बाजुरा, १५ पुस– जिल्ला पशुसेवा कार्यालय बाजुरा र नेपाल पक्षी संरक्षण संघ काठमाण्डुले हिजो बाजुरा जिल्लालाई डाइक्लोफेनिक मुक्त जिल्ला घोषणा गरेको छ ।
गिद्ध सचेतना र संरक्षणका लागि डाइक्लोफेनिक मुक्त हुन् आवश्यक सूचक पूरा भएपछि ४३ औं जिल्लाका रुपमा घोषणा गरिएको हो । सबै जिल्लालाई डाइक्लोफेनिक मुक्त जिल्ला बनाउने क्रममा पक्षी संरक्षण संघ काठमाण्डुले घरपालुवा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनिकको प्रयोग बाजुरामा नभएको पाइएपछि मुक्तको घोषणा गरेको हो ।
नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छ । जसमा ६ जात रैथाने र ३ जातका बटुवा गिद्ध रहेको नेपाल पक्षी संरक्षण संघका फिल्ड अधिकृत भूपाल नेपालीले जानकारी दिए । गिद्धको संरक्षण गर्न सके रेबिज, प्लेग, हैजा, फैलिनबाट बच्न सकिने, हावापानी, माटो प्रदूषण हुनबाट जोगिने, जनावरको सिनो खाएर वातावरणलाई सहयोग पुग्नेलगायतका फाइदा हुने पक्षी संरक्षण संघले जनाएको छ ।
हाल ९५ प्रतिशतभन्दा बढी गिद्ध लोप भइसकेकाले यसको संरक्षण गर्नु जरुरी रहेको छ । कोही कसैले गिद्ध मारेको भेटिएमा ५ वर्ष कैद र रु १५ हजार जरिवाना वा दुवै सजायको व्यवस्था रहेको बताइएको छ ।