गुरुङ समुदायले आज ल्होसार मनाउँदै

काठमाण्डु टुडे २०७१ पुष १५ गते २:३८ मा प्रकाशित

Gurung girls wearing traditional dress dance while taking part in a New Year parade in Kathmanduकाठमाण्डु, १५ पुस– गुरुङ समुदायले आज मान्यजनबाट आदिर्वाद लिनुका साथै आपसमा शुभकामना आदान प्रदान गर्दै ल्होसार पर्व मनाउँदै छन् ।

गुरुङ समुदायले घोडा वर्षलाई बदा गरी भेडा वर्षको धुमधामका साथ स्वागत गर्न लागेका हुन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । ल्होसारका अवसरमा मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । आजका दिन नयाँ लुगा लगाउने, मिष्ठान्न भोजन गर्ने र नाचगान गरी रमाइलो गर्ने परम्परा छ ।
ल्होसारका अवसरमा काठमाण्डुको खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले पनि मनाउने गर्छन् । तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पालगायतले फागुन शुक्लप्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् ।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने विश्वासमा यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ ।
नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि २०६४ सालमा ल्होसारले राष्ट्रिय पर्वको मान्यता पाएको थियो । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबीच पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले ल्होसारले आपसमा मेलमिलाप, सद्भाव तथा एकता कायम गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

राष्ट्रपतिले यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति परमानन्द झाले शान्ति, समृद्धि र नयाँ संविधान आजको राष्ट्रिय आवश्यकता भएकोमा जोड दिँदै ल्होछारले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरणा गरोस् भन्ने कामना गरेका छन् । यस पर्वले अन्य समुदायका नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा आफू विश्वस्त रहेको उनको सन्देशमा उल्लेख छ ।
यस्तै प्रधानमन्त्री सुशील कोइरालाले यस्ता पर्व नेपाली संस्कृतिको धरोहर रहेको भन्दै नेपालका लागि सबै पर्व समान रहेको उल्लेख गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले यो पर्वले नेपालको विविध संस्कृति र समुदायका बीचमा अझ बढी सद्भाव र सहकार्यको वातावरण बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
अब बन्ने संविधानमा सबैको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टीले अन्तिमसम्म पहल र प्रयत्न गर्नेप्रतिबद्धता समेत उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us