काठमाण्डु, १४ पुस– जेट एयरको उडानबाट दिल्ली हुँदै ग्रिसतिर लागूऔषध पठाउँदै गर्दा एकजना व्यक्ति विमानस्थलमै पक्राउ परेका छन् । क्वीक बेस्ट कार्गोद्वारा एरान्याक्स कुरियरमार्फत् उक्त लागूऔषध ग्रिस पठाउन लागेको प्रहरीले जनाएको छ ।

भक्तपुर मध्यपुर ठिमी, कौसलटार बस्ने मनोज कार्कीलाई प्रहरीले आइतबार पक्राउ गरी कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाएको हो । उनले काठको मूर्तिभित्र पोको पारेर कुरियर लैजाँदै थिए । कार्की क्वीक बेस्ट कार्गोका कर्मचारी भएको बताइएको छ ।
त्यस्तै मकवानपुरको हेटौँडास्थित रातोमाटेबाट पनि लागूऔषधसहित भारतको दिल्ली घर भएको मन्जित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनले वीरगन्जबाट हेटौंडातिर आइरहेको टाटासुमोमा लागूऔषध ल्याइरहेको फेला परेको थियो ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।