चिनियाँ सहयोग चारसय प्रतिशतले वृद्धि

काठमाण्डु टुडे २०७१ पुष ११ गते १०:३१ मा प्रकाशित

काठमाण्डु, ११ पुस–चीनले नेपाललाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको सहायता रकममा चार सय तेत्तीस प्रतिशतले वृद्धि गरेको छ ।

Nepal

नेपालको सामाजिक एवम् आर्थिक विकासमा सघाउन उक्त मुलुकले प्रदान गर्दै आएको १५ करोड चिनियाँ युआनलाई ८० करोड पु¥याउने घोषणा गरेको हो ।  नेपाल र चीनबीच काठमाण्डुमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय वार्तामा चीनले अनुदानस्वरुप वार्षिक ८० करोड आरएमबी उपलब्ध गराउने सहमति जनाउनाका साथै नेपालको चौतर्फी विकासका लागि नौ क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

वार्तामा नेपाल र चीनका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय संयन्त्रलाई सक्रिय तुल्याउन पनि सहमति जनाएका छन् ।

चीनले व्यापार, लगानी, पूर्वाधार, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि, ऊर्जा, क्षमता अभिवृद्धि र सुरक्षा तथा कानुन कार्यान्वयनमा नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस निम्ति द्विपक्षीय, क्षेत्रीय र सहयोगसम्बन्धी परियोजना विकास गरेर अघि बढ्ने जनाएको छ ।

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील देशमा स्तरोन्नति हुन नेपालले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि ‘हामी जस्तोसुकै सहयोग उपलब्ध गराउन तत्पर छौ ।’ भने ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औंँ वर्ष आगामी वर्ष प्रारम्भ हुने सन्दर्भमा उनले दुई देशबीचको विस्तृत सहकार्यात्मक सम्बन्धलाई अझ चिरस्थायी एवम् आपसी लाभमा केन्द्रित गर्न चीन उत्सुक रहेको बताए ।

चीन र भारतले हासिल गरेको आर्थिक समृद्धिबाट सक्दो लाभ लिनेतर्फ नेपाल लाग्नुपर्ने सुझाव दिँदै उनले चीन र भारतका निम्ति नेपाल एउटा सक्षम सेतु बन्नसक्ने तर्क राखे । रास

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us