महोत्तरी, १० पुस–शीतलहर एवम् बाक्लो हुस्सुको कारण तराईलगायत महोत्तरीको जनजीवन प्रभावित भएपछि सशस्त्र प्रहरी बेस क्याम्प रामनगरले गौशाला नगरपालिकामा ठूलो परिमाणमा दाउरा वितरण गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प रामनगरले बिहीबार बिहान गौशाला नगरपालिकाका विभिन्न स्थानमा २० क्विन्टल दाउरा आगो बाल्न वितरण गरेको हो ।
शीतलहर एवम् बाक्लो हुस्सुका कारण स्थानीय जनताको जीवन कष्टकर भएपछि गौशाला नगरपालिकाको चिनी मिल चौक, शर्मा चौक, कुसमाडी, सुर्ती विकास, जिरोमाइल, गौशाला बजारलगायत दर्जनौँ स्थानमा दाउरा वितरण गरिएको सशस्त्र प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए ।
महोत्तरीमा अहिलेसम्म चिसोको कारण चारजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस