लहान, १ –पुस–सगरमाथा अञ्चलमा सवारी साधनको सङ्ख्या बढ्दै गए पनि त्यो अनुपातमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिइने परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढेको छैन ।
सवारी चालक अनुमति पत्रका लागि सगरमाथा यातायात कार्यालय लहानले नयाँ प्रणालीअनुसार लिइने लिखित र प्रयोगात्मक (ट्राइल) परीक्षामा न्यून सङ्ख्यामा मात्र उम्मेदवारहरु उत्तीर्ण हुने गरेकाले स्थानीयवासी चिन्तित बनेका छन् ।
चालु आर्थिक वर्ष २)७१÷)७२ को पाँच महिनाको अवधिमा यातायात कार्यालय लहानमा दुई हजारभन्दा बढी नयाँ सवारी साधनको दर्ता भएको सो कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको भदौ र मङ्सिर गरी दुई चरणमा एक सय ६४ जनालाई मात्र सवारी चालक अनुमतिपत्र वितरण गर्न सकेको यातायात कार्यालय लहानका प्रमुख सीताराम खनालले जानकारी दिए ।
चालक अनुमतिपत्र वितरणका लागि हालै यातायात कार्यालय लहानले लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षामा करिब आठ प्रतिशतमात्र उम्मेदवार उत्तीर्ण भएका छन् ।
लामो समयपश्चात् यातायात कार्यालय लहानले चालक अनुमति पत्रका लागि गत मङ्सिर ३, ४ र ५ गते आह्वान गरेअनुसार तीन हजार ६ सय सात जनाले आवेदन दिएका थिए ।
लिखित र प्रयोगात्मक दुवै परीक्षामा उत्तीर्ण भएकालाई मात्र सवारी चालक अनुमतिपत्र दिने व्यवस्था रहेको छ ।
यसरी दिनहुँ बढ्दै गएको सवारी साधनको चाप र अनुमतिपत्र वितरणको अवस्थालाई मूल्याङ्कन गर्दा अझै थुप्रै व्यक्तिहरु बिनालाइसेन्स सवारी साधन चलाउने गरेको देखिएको प्रमुख खनालको भनाइ छ । रासस