काठमाण्डु, ९ पुस– कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले वीर अस्पतालमा अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
बुधबार साँझ वीर अस्पताल पुगेर मन्त्री आचार्यले कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिँदै अनशन तोड्न आग्रह गरेका हुन् ।
मन्त्री आचार्यले अनशनरत अधिकारीसँग भने, ‘न्यायका लागि हामी सबैको साथ तपाईंलाई रहन्छ, तर कठिन रुपमा लडाइँ नलड्नुस्, जीवनलाई बचाएर लडाइँ लड्नुस् ।’
जवाफमा अधिकारीले छोराका हत्यारामाथि कारबाही नभएसम्म आफूले अनशन नतोड्ने बरु देह त्याग्ने बताएकी छन् ।
द्वन्द्वकालमा चितवनमा हत्या गरिएका आफ्नो छोरा कृष्णप्रसादका हत्याराहरुमाथि कारबाहीको माग गर्दै गङ्गामाया २०७० कात्तिक ७ गतेदेखि श्रीमान् नन्दप्रसादसँगै आमरण अनशन बसेकी थिइन् ।
अनशन बसेको ३३३ दिनमा नन्दप्रसादको मृत्यु भएपनि हालसम्म उनको अन्तिम संस्कार भएको छैन । श्रीमान्को मृत्युअघिसम्म कुनै पनि किसिमका खाद्यपदार्थ नखाई आमरण अनशनमा रहनुभएका अधिकारीले ३५९ दिनपछि झोल मात्र पिएर अनशनलाई निरन्तरता दिँदै आएकी छन् ।