बालुवाटारमा प्रचण्ड र केपी ओलीबीच कसरी भयो गोप्य वार्ता ?

काठमाण्डु टुडे २०७१ पुष ९ गते १५:५४ मा प्रकाशित

prachanda-kp oliकाठमाण्डु, ९ पुस– सार्वजनिक रुपमा एकअर्काविरुद्ध कडा आरोप प्रत्यारोपमा उत्रिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भएको छ ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ गोप्य कुराकानी भएको हो ।

प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा बसेको प्रमुख तीन दलसहित मधेसी मोर्चाको बैठकमा अरु नेताले प्रचण्ड र ओलीबीच तिक्तता कम गरेर मात्र संविधानका विवादमा छलफल अगाडि बढाउने बताएपछि उनीहरुबीच छुट्टै कुराकानी भएको थियो ।

करिब दुई घण्टा भएको भेटमा के के कुराकानी भयो भन्ने बताइएको छैन । ‘पहिला शीर्ष नेताहरुबीच चिसिएको सम्बन्ध सुधारेर विश्वासको वातावरण बनाउनुपर्छ भन्ने भयो’, बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष जनारायणकाजी श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘पहिला व्यक्तिगत अविश्वास हटेपछि मात्र अरु कुरामा छलफल गर्न सकिन्छ ।’
केही दिनयता प्रचण्डले ओलीमाथि ‘राजा महाराजाको स्थान लिन खोजेको’ आरोप लगाउँदै आएका छन् ।’ ओलीले भने आफू सिपाही भएको तर्क गर्दै प्रचण्ड निरंशुक स्वभावको व्यक्ति भएको आरोप लगाउने गरेका छन् ।

बहुमतको निर्णय नमान्ने भनेर प्रचण्डले आफूलाई राजा ठानेको टिप्पणी ओलीको छ । शनिबार बालुवाटारमा बसेको प्रमुख तीन दल बैठकमा एमाओवादीप्रति ओलीले कडा रबैया देखाएका थिए ।

ओलीले प्रचण्डलाई सुण्डमुण्ड बटुलेर निर्माण गरेको मोर्चा विघटन गरे मात्र सहमतिका लागि छलफल गर्न सकिने अभिव्यक्ति दिएका थिए । त्यसपछि बैठक छाडेर हिंडेका प्रचण्डले ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिएका थिए ।

श्रेष्ठका अनुसार बिहीबार प्रधानमन्त्री सुशील कोइरालाले प्रचण्ड र ओलीलाई छुट्टाछुट्टै भेट गरेपछि अपराह्न चार पक्षको बैठक बस्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us