एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डु टुडे २०८३ असार २३ गते १२:३३ मा प्रकाशित

काठमाण्डू, २३ असार– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् ।

यो कुल सहभागीको ६४.६९ प्रतिशत हो । जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् ।

०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् । बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएसरयूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ ।

नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।

यसैबीच, परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षबाट सिफारिस भएका ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us