दलका कार्यकारी नै सरकारी शिक्षक, शिक्षा कार्यालय मौन

काठमाण्डु टुडे २०७१ पुष ३ गते १०:५४ मा प्रकाशित

जाजरकोट, ३ पुस–शिक्षकको आचारसंहिता र शिक्षा नियमावली विपरीत जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी तथा अस्थायी शिक्षक राजनीतिक दलको कार्यकारी पदमा रहे पनि शिक्षा कार्यालय जाजरकोट मूकदर्शक बनेको छ ।

सरकारी दरबन्दीमा कार्यरत शिक्षक आफ्नो नैतिकता र जिम्मेवारी भुलेर दलका विभिन्न समितिमा खुलेआम रहन थाले पनि कार्यालय मौन बसेको हो ।

विद्यालयमा गएर पढाउनुपर्ने शिक्षक दलका गतिविधिमा सक्रिय भएर काम गर्न थालेका छन् । प्रमुख दलहरुकै जिल्ला कार्यसमिति र अन्य निकायमा उनीहरु पूर्णकालीन नेता कार्यकर्ता जस्तो सक्रिय भए पनि सरोकारवाला निकाय जिल्ला शिक्षा कार्यालय मौन बसेकामा स्थानीयवासी दङ्ग परेका छन् ।

नागरिक समाजका अध्यक्ष केशवजङ्ग शाह शिक्षा कार्यालयको लाचारीपन र शिक्षकमा बढ््दै गएको अराजकताका कारण शिक्षक गैरजिम्मेवार बनेको बताउछन् ।

शिक्षा नियमावली, शिक्षकको आचारसंहिता र अन्य नियमकानुनको ठाडो उलङ्घन गर्दै उनीहरु दलका भेला, आमसभा, जुलुस, चुनाव र अन्य गतिविधिमा सक्रिय भएपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

हालै सम्पन्न भएको एमाले जाजरकोटको पाँचौँ अधिवेशनबाट वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका मावि शिक्षक प्रेमप्रसाद घर्ती उपसचिव पदमा निर्वाचित भएका छन् ।

घर्तीसँगै जनविकास प्रावि दसेराकी राहत शिक्षिका कविता जैसीलगायत अन्य शिक्षक सदस्य पदमा निर्वाचित भएका छन् ।

नारायणी उच्च मावि कार्कीगाउँका प्रधानाध्यापक इलमबहादुर शाही नेपाली काँग्रेसको महासमिति सदस्य हुन् । नवप्रतिभा प्राथमिक विद्यालय बालुवा जँुगाथापाचौरकी प्रधानाध्यापक सीता शाही काँगे्रसकै महाधिवेशन प्रतिनिधि हुन् ।

काँग्रेस एमालेमात्र होइन माओवादी निकट शिक्षक पनि पार्टीको सल्लाहकार र अन्य कार्यकारी पदमा रहेको बताइएको छ । जिल्ला शिक्षा समिति गठनको स्पष्ट कानुनी प्रावधान भए पनि राजनीतिक भागबन्डा गर्ने गरिएको छ ।

शिक्षा कार्यालयले गर्ने अधिकांश कार्य तथा सेवा प्रवाहमा समेत दलीय भागबन्डा हुन थालेको छ । आवश्यकता र पहिचानका आधारमा भन्दा दलीय भागबन्डाका आधारमा कार्यहरु हुने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us