झापा, ३ पुस– झापाको नवघोषित कन्काइ नगरपालिकाको भवन निर्माण गर्न स्थानीय समाजसेवीहरुले एक करोड १२ लाख रुपैयाँ बराबरको १६ कठ्ठा जग्गा दान गरेका छन् ।
भवन निर्माणका लागि कन्काइ नगरपालिकाका–१ स्थित जामुनबारीमा स्थानीय हेमन्त सिटौला र कुमनमणि सिटौलाले जनही साढे छ कठ्ठा, सावित्री ओलीले दुई कठ्ठा र अनुप ओलीले एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेको नगरपालिकाका कार्यकारी अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गदेखि ४ सय मिटर पश्चिमतर्फ रहेको सो जग्गामा भवन निर्माणपछि नगरवासीलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न सजिलो हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी टेकप्रसाद पौडेल र स्थानीय विकास अधिकारी फणिन्द्र दाहालले भवनका लागि प्राप्त जग्गाको बुधबार निरीक्षण एवं अनुगमन गरेका थिए ।