काठमाण्डु, २ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइ बहुमतको बलमा संविधान जारी गर्ने विश्वास व्यक्त गरेका छन् ।
एमालेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई तिहाइ बहुमतले माघ ८ गते नै संविधान घोषणा गर्ने दाबी गरे ।
‘हामीले सहमतिलाई नै प्राथमिकतामा राखेर प्रयास गरिरहेका छौं,’ ओलीले भने, ‘तर, केही सहमति हुन दिन्नौं भनेर कसम खाएर बसेका छन् । उनीहरु सहमति भन्छन् तर देशलाई रुवान्डा बनाउन खोज्ने प्रवृत्ति लिएर हिंडेका छन् ।’ ओलीले एमाओवादीतिर संकेत गर्दै भने, ‘त्यस्तो प्रवृत्तिसँग सहमति हुन सक्दैन ।’
उनले दलहरुबीच सहमति भयो भने प्रक्रिया छोट्याएर भए पनि माघ ८ मै संविधान जारी गर्न सकिने जिकिर गरे । उनले पहिचानसहितको संघीयता भन्दै पहाड र तराई छुट्याउन खोज्नेहरुसँग भने आफूहरुले कुनै हालतमा सम्झौता नगर्ने बताए ।