बलात्कारपीडितलाई न्याय मागे बाबुरामले

काठमाण्डु टुडे २०७१ पुष २ गते ९:५९ मा प्रकाशित

काठमाण्डु, २ पुस– एकीकृत माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामूहिक बलात्कार पीडित किशोरी पूजा बोहरालाई न्याय र भौतिक सुरक्षाको माग गरेका छन् । उनले प्रधानन्यायधिस र कानुनमन्त्रीलाई छुट्टाछुट्टै टेलिफोन गरी पीडितलाई न्याय दिलाउन माग गरेका हुन् ।

BABURAM

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले पीडितका पक्षमा आफूले सकेजति प्रयत्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

०६८ सालमा आफू प्रधानमन्त्री भएकै बेला घटनामा पीडित बोहराको उपचारका लागि तत्काल १ लाख उपलब्ध गराउन र संलग्न अपराधीलाई कारवाही चलाउन निर्देशन दिएको स्मरण गर्दै पुनरावेदन अदालतबाट अपराधीलाई निर्दोष सावित गरी कैदमुक्त गराउनु अन्यायपूर्ण भएको बताएका छन् ।

भट्टराईले पीडित किशोरी र उनको संरक्षण गर्ने रक्षा नेपालकी अध्यक्ष मेनका थापालाई आफ्नै निवासमा बोलाएका थिए । उनले प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष रामकुमारप्रसाद साहस“ग टेलिफोन गरी कुराकानी गर्दै पीडित किशोरीलाई न्याय दिलाउन र घटनामा संलग्न अपराधीहरुलाई १३÷१३ वर्ष कैद सजाय गर्ने जिल्ला अदालतको फैसलालाई उल्ट्याउने पुनरावेदन अदालत, महेन्द्रनगरका दुई न्यायाधीशमाथि न्यायपरिषद्बाट अनुसन्धान थाल्न आग्रह समेत गरेका छन् ।

त्यसैगरी उनले न्यायपरिषद्का सदस्यसमेत रहेका कानुन तथा न्यायमन्त्री नरहरि आचार्यस“ग टेलिफोन गरी पीडित किशोरीलाई न्याय दिलाउन न्यायपरिषद् र सरकारबाट आवश्यक कदमका लागि आग्रह गरेका छन् ।
भट्टराईले पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान तथा मानवअधिकारकर्मीहरुस“ग पनि परामर्श गरेको उनको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us