बर्दिया, २ पुस–गुलरिया नगरपालिकास्थित बबई नदी र भगरतालको बीचमा पर्ने रामपुर टप्परका बाढीपीडितको घरखेतै बाढीले बगाएपछि ४४ घर परिवार सुकुम्बासी बनेका बाढीपीडितको रात कष्टकर बन्दै गइरहेको छ ।
जिल्लामा अधिकांश क्षेत्रका बाढीपीडितको जनजीवन सामान्य भइसक्दा पनि उनीहरू तुल्सीपुरस्थित फुटबल खेल मैदानको शिविरमा बस्न बाध्य छन् । उनीहरूको अवस्था अझै सामान्य बन्न सकेको छैन ।
बाढीबाट सर्वस्व गुमाएका उनीहरू जाडोमा शीत चुहिने त्रिपालमुनि सुत्न बाध्य छन् । दैवी प्रकोप उद्धार समिति, रेडक्रस सोसाइटी बर्दियालगायतका सङ्घसंस्थाले जिल्लामा सबैलाई राहत वितरण गरे तर अति प्रभावित शिविरवासीले राहत नपाएको गुनासो छ ।
उनीहरूलाई बिहान बेलुकाकै छाक टार्न कठिनाइ भइरहेको अवस्थामा जाडो सुरु भइसकेपछि थप पीडित बनेका छन् । जाडोले गर्दा वृद्धवृद्धा, महिला र बालबालिका बढी प्रभावित भएको बाढीपीडित शिविरकी लक्ष्मी रानाले बताए ।
बाढीबाट बर्दियाको अधिकांश भूभाग प्रभावित बन्यो । बाढी पछि जिल्लामा धेरै राहत सङ्कलन भए तर त्यो राहत वास्तविक पीडितले पाउन सकेका छैनन् । दिनप्रतिदिन चिसो बढ्दै जाँदा निमोनियाको समस्या देखिन थालेको छ । बालबालिका, महिला र वृद्धवृद्धालाई न्यानो कपडा नहुँदा उनीहरू बिरामी पर्न थालेका छन् । रातभरि शीतसँग सङ्घर्ष गर्नुपर्दा उनीहरूले थप पीडा महसुस गर्न थालेका छन् ।
राजनीतिक दलका नेताले पनि आफूहरूको समस्यालाई नहेरेको उनीहरूको गुनासो छ । बाढीपीडितको सहयोगका लागि करोडौँ रुपैयाँ जिल्लामा आयो तर शिविरमा कष्टकर जीवन बिताइरहेका वास्तविक शिविरका बाढीपीडितले उचित राहत पाउन नसकेको पीडितहरूले दुखेसो गरेका छन् । रासस