यतिखेरै किन सम्झे सुशीलले ०४६ साल ?

काठमाण्डु टुडे २०७१ पुष १ गते ८:४९ मा प्रकाशित

काठमाण्डु, १ पुस– नयाँ संविधान निर्माणका सन्दर्भमा २०४७ सालको संविधानमै हेरफेर गर्ने बहस समेत चलिरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले २०४६ सालको आन्दोलनको स्मरण गरेका छन् ।

Sushil Koirala
पुस १ गते राजा महेन्द्रले सत्ता हातमा लिएको दिन पारेर प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रको पुनर्बहाली भएको आन्दोलन भन्दै २०४६ सालको मात्रै सम्झना गरेका हुन् । राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानको दीक्षान्त समारोहमा बोल्दै कोइरालाले राजाको पुस एक गतेको अप्रजातान्त्रिक कदमबाट संकुचित गरिएका अवसरहरु २०४६ सालपछि नै खुल्दै गएको चर्चा गरे ।
उनले जनआन्दोलन २०६२÷०६३ र गणतन्त्र घोषणाको सन्दर्भलाई भने प्रजातन्त्र प्राप्तिको घटनाका रुपमा उल्लेख गरेनन् । कोइरालाले भने, ‘२०४६ सालको जनआन्दोलनले प्रजातन्त्रको पुनर्बहाली मात्र गराएन, प्रजातन्त्रको उज्यालोमा हामीले आर्थिक र सामाजिक विकासका धेरै क्षेत्रमा संगसंगै पदार्पण पनि गरायो ।’
उनले आर्थिक र शैक्षिक क्षेत्रमा गरिएको उदारीकरणले २०१७ साल पुस १ गतेको तात्कालिन राजाको अप्रजातान्त्रिक कदमबाट संकुचित गरिएका अवसरहरु विस्तारै खुल्दै गएको दाबी गरेका छन् ।
प्रधानमन्त्रीले माओवादी जनयुद्धको नामै नलिइकन आन्तरिक द्वन्द्वले विगतमा चिकित्सा क्षेत्रमा पनि विकृति आएको बताएका छन् । उनले भने, ‘विगतको केही समय आन्तरिक द्वन्द्व, राजनीतिक अस्थिरता र संक्रमणका कारण राज्यको नियमनकारी भूमिका र क्षमतामा ह्रास आएकोले चिकित्सा शिक्षाको क्षेत्रमा पनि केही विकृति आएको समाचार सुन्नपर्दा हामीलाई ग्लानी भएको छ ।’
प्रधानमन्त्रीले अहिले नेपाली समाजको मुख्य समस्याका रुपमा सुशासनको अभाव भएको स्वीकारेका छन् । उनले ट्रान्स्परेन्सी इन्टरनेसनलले केही समयअगाडि प्रकाशित गरेको भ्रष्ट्राचार मापन सूचिले सरकारको प्रतिष्ठा घटाएको समेत स्वीकार्दै सार्वजनिक सेवाका क्षेत्रमा सुधार गर्न नसकेको बताएका छन् ।
उलने नेपालमा शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधानको पक्षमा आफू रहेको समेत दोहोर्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us