एमाओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७१ पुष १ गते ५:०६ मा प्रकाशित

maoist flagकाठमाण्डु, १ पुस– एमाओवादीको मंगलबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

नेताहरु संविधानसभा बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव हितराज पाण्डेले काठमाण्डु टुडेलाई जानकारी दिए ।

संविधानसभामा सक्रिय र सशक्त उपस्थिति जनाउनुपर्ने भएका कारण बैठक स्थगित भएको उनले बताए ।

गत वैशाखमा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उत्पन्न किचलोका कारण ६ महिनासम्म बस्न नसकेको बैठक नेताहरुबीच पद बाँडफाँडमा कुरा मिलेपछि आइतबारबाट सुरु भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने र आगामी २०७२ सालको माघ अन्तिम साता विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।

उनको प्रस्तावमा महाधिवेशनले नेतृत्व हस्तान्तरणसम्बन्धी विधि ठोस गर्ने उल्लेख छ ।

प्रचण्ड र नेता बाबुराम भट्टराईबीच वैचारिक र संगठनात्मक नेतृत्व बाँडेर लिने सहमति भएपछि एमाओवादीमा नेतृत्व हस्तान्तरणको बहस सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us