काठमाण्डु, २९ मंसिर– संविधानसभाको दोश्रो नर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीलाई संविधानसभा नछाड्न आग्रह गरेका छन् ।
प्रगतिशील शक्तिको हातबाट ‘प्रतिगामी’ को कब्जामा पुगेको भन्दै नेकपा–माओवादीले संविधानसभा विघटन गरी राष्ट्रिय राजनीतिक सभाको माग गर्दै आएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पछिल्लो समय बाक्लै भेटघाट गर्दै आएका वैद्यले हरेक भेटमा त्यस्तो आग्रह गर्ने गरेका छन् ।
‘तपाईंहरुले संविधानसभा छाड्दा झन् डुबिने खतरा हुन्छ’, वैद्यको भनाइ उद्धृत गर्दै प्रचण्डनिकट एक नेताले काठमाण्डु टुडेसँग भने, ‘संविधानसभा वैधानिक मोर्चा हो, त्यहींबाट लड्नुपर्छ नछाड्नुहोला ।’
यद्यपि वैद्यले आफू बुढेसकालमा संसदवादी हुन नसक्ने बताउने गरेको बुझिएको छ । यसअघि वैद्यले संविधानसभा छाडेर जनवादी क्रान्तिको कार्यदिशामा आए एमाओवादीसँग पार्टी एकता हुन सक्ने बताउँदै आएका थिए ।