
पाकिस्तान, २९ मङ्सिर–विगत केही वर्षदेखि राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरेका पाकिस्तानी पूर्व क्रिकेट खेलाडी इमरान खानले नेतृत्व गरेका तेहरिक–ए–इन्साफ पाकिस्तान पिटिआई पार्टीका कार्यकर्ताहरुले सरकार विरोधी प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार बिहानैदेखि पूर्वी पाकिस्तानको लाहोर महानगरका मुख्य मुख्य मार्गहरु बन्द गराएका छन् ।
सो पार्टीका दर्जनौं कार्यकर्ताहरु सडकमा उत्रिदै मूल नाका र चौबाटोमा ढुङ्गा, मुढा तेस्र्याएर र थोत्रा टायर बालेर सार्वजनिक यातायात सेवा ठप्प गर्न बाध्य पारेका छन् ।
पाकिस्तानमा सन् २०१३ मा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भनी खानले नेतृत्व गरेको पिटिआई पार्टीले दोषारोपण गर्दैआएको छ ।
तर, त्यसबखत विदेशी पर्यवेक्षक तथा निर्वाचन निरीक्षण गर्ने अन्य स्वतन्त्र सङघ, संस्थाहरुले भने मतदान निष्पक्ष र स्वच्छता पूर्वक सम्पन्न भएको भन्ने निष्कर्ष गरेका थिए ।
आफ्नो पकेटक्षेत्र लाहोरबाट तत्कालिन समयमा विजयी भएका वर्तमान प्रधानमन्त्री नवाज सरिफको राजिनामा माग गर्दै प्रदर्शनकारीहरुले उनकै पकेट क्षेत्रमा तीव्र विरोध प्रदर्शन सुरु गरेको बताइएको छ ।
साथै यस्ता खाले विरोध प्रदर्शन कार्यक्रम देशभरी नै सञ्चालन गरी गतिरोध उत्पन्न पार्ने पनि चेतावनी दिइएको छ ।
गतहप्ता पनि पाकिस्तानको फैजलावाद महानगरमा सरकार विरोधी यस्तै प्रदर्शन हुँदा प्रदर्शनकारी र प्रहरीबीच झडपका घटनाहरु भएका थिए । तसर्थ यस विरोध प्रदर्शनबाट पैदा हुने सम्भावित हिंसा, त्रास र असुरक्षालाई ध्यानमा राखी सरकारले भारी सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरेको छ ।
वर्तमान प्रधानमन्त्री नवाज सरिफको राजिनामा आफ्नो मुख्य माग भएको र आगामी डिसेम्बर १८ सम्म सो माग पूरा नभएमा राज्यका सबै संयन्त्र ठप्प पार्ने समेत नेता खानले चेतावनी दिएका छन् । रासस