दुई अफगान प्रहरी र आठ तालिवानको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते १२:२८ मा प्रकाशित

एजेन्सी–अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा दुई अफगान प्रहरी र तालिवान सशस्त्र विद्रोहीका प्रमुख कमाण्डर मुल्लाह मोमेनसहित आठ तालिवानको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
अफगान राष्ट्रिय प्रहरीले हेलमान्ड–कान्दाहार राजमार्गमा तालिवान सशस्त्र विद्रोहीको विरुद्ध जारी राखेको कारबाहीको क्रममा तालिवानका प्रमुख कमाण्डर मुल्लाह मोमेनसहित आठ तालिवानको मृत्यु भएको हेलमान्ड प्रान्तमा उप गभर्गर मसौउद बखतावारले जानकारी दिए ।

यस कारबाहीको क्रममा दुई अफगान प्रहरीले  पनि ज्यान गुमाउनु परेको जनाइएको छ । आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आफ्नो लडाकूको भूमिकालाई परिवर्तन गरी सहयोगको भूमिका निभाउने भएको छ ।

त्यसैगरी अफगानिस्तानमा तालिवान आतङ्ककारीसँगको लडाइँमा सन् २०१० मा एक लाख ३० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर १२ हजार ५०० मा आउने भएको छ ।

अर्थात् यसै महिनाको अन्त्यबाट अफगानिस्तानमा रहेका नेटो आवद्ध प्रायः सैनिकले अफगानिस्तान छोड्ने छन् ।

सन् २०१५ बाट नेटो आवद्ध १२ हजार ५०० सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ ।

सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us