
नयाँ दिल्ली, २५ मंसिर– विश्वका शक्तिशाली र सुरक्षा खतराका हिसाबले एक नम्बरमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको भ्रमणका क्रममा बुधबार भारत पुगेका छन् ।
आर्थिक नाकाबन्दीको मार खेपिरहेका रसिया राष्ट्रपति पुटिनलाई आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । दुई नेताबीचको भेटवार्तामा परमाणु, ऊर्जा र रक्षा क्षेत्रको विषयहरुमा वार्ता र सम्झौता समेत भएको छ ।
युक्रेनमा जारी विद्रोहका कारण संयुक्त राज्य अमेरिका र युरोपियन युनियनको नाकाबन्दीका कारण पछि परेको रसियाली अर्थतन्त्रको लागि राष्ट्रपति नयाँ बजारको खोजीका रहेका छन् । उनी भारतसँग सोवियत सङ्घको जमानाको जस्तै रसिया र भारतबीच प्रगाढ सम्बन्धको चाहाना राखेको बताइन्छ ।
अहिले भारत र रसियाको द्विपक्षीय व्यापार १० अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।
यसैबीच आज भएको वार्तामा दुई नेताले परमाणु उर्जाका लागि अरु संयन्त्र स्थापना गर्ने, रुसले भारतमा आफ्नो नयाँ उन्नत हेलिकप्टर निर्माण गर्ने, रुसले भारतको मोबाइलन नेटवर्क रुसमा स्थापना गर्नमा सहयोग गर्ने, भारतीय कम्पनीहरु रुसमा स्थापना गर्न सहयोग लगायतका विषयमा सम्झौता भएको बताइएको छ ।
त्यसैगरी अत्याधुनिक जेट फाइटरको विकास गर्ने र ग्यास तथा तेलका कम्पनीहरुबीच आपसी सम्झौता गर्ने गरी सहमति भएको समाचारहरुमा जनाइएको छ ।