
जेनेभा, २३ मंसिर– सन् २०१४ बालबालिकाको लागि अहितकारी वा बिनासकारी वर्षको रुपमा रहेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ ।
यस वर्ष विश्वभरका लाखौं बालबालिका सशस्त्र द्वन्द्वमा परेका र यसै वर्ष इबोला भाइरस महामारीले ल्याएको असह्य दुख कष्टमा परी गिनी, लाइबेरिया र सियरा लियोनलगायत आसपासका हजारौं बालबालिकाले आमा, बाबु गुमाएका थिए ।
त्यसैगरी लगभग ५० लाख जति विद्यालय जानबाट वन्चित हुनु परेको काहाली लाग्दो अवस्था समेत बालबालिकाले भोग्नु परेको युनिसेफले थप जानकारी दिएको छ ।
युनिसेफका अनुसार विभिन्न देशमा चलिरहेको सशस्त्र द्वन्द्वका कारण विश्वभरिका २३ करोड बालबालिका प्रभावित छन् ।
युनिसेफद्वारा जारी एक प्रतिवेदनअनुसार मध्य अफ्रिकाली गणतन्त्र, इराक, दक्षिण सुडान, प्यालेस्टाइन, सिरिया र युक्रेनमा जारी बाल हिंसाबाट मात्र एक करोड ५० लाख बालबालिका प्रभावित भएका छन् ।
यस वर्ष बालबालिका विद्यालयमा पढिरहंँदा वा आफ्नै ओछ्यानमा सुतिरहँंदा पनि मारिएका छन् । त्यसैगरी बालबालिकाहरु टुहुरा, अपहरित, बलात्कृत र दास दासी भएर बाँच्नु परेका घटना पनि अनगिन्ती छन् ।
यस वर्ष मध्य अफ्रिकाली गणतन्त्रमा २३ लाख बालबालिका द्वन्द्वप्रभावित भएका, १० हजारभन्दा बढी सशस्त्र विद्रोही समूहमा भर्ना भएका र ४३० भन्दा बढी बालबालिका मारिएका वा अङ्गभङ्ग भई बाँचिरहेका छन् ।
यी सङ्ख्याहरु गत वर्षको तुलनामा तीन गुणा बढी रहेको पनि युनिसेफले जानकारी दिएको छ ।
रासस/सिन्ह्वा