
भारत, २२ मंसिर– ‘माओवादीसँग त हामी जुध्न सक्छौं तर लामखुट्टेसँग जुध्न मुस्किल छ’, यो भनाइ बस्तर जिल्ला प्रहरीका एक जवानको हो ।
ती प्रहरी जवान अघिल्लो साता मलेरियाग्रस्त भएका थिए । ती जवानलाई उपचारका लागि जिल्ला अस्पताल लगियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि रायपुर लगियो जहाँ निकै मुस्किलले उनको उपचार भयो ।
तर, सबै ती जवानजस्तै भाग्यमानी हुँदैनन् । अघिल्लो बिहीबार मात्र झिरम क्याम्पमा तैनाथ प्रहरीका ८ जवान मलेरिया संक्रमित भएपछि जगदलपुरको महारानी अस्पतालमा भर्ना गरियो । ८ जवानमध्ये २६ वर्षीय गोविन्द तामाङको शुक्रबार निधन भयो । तामाङका बुबा सहदेव तामाङले भने, ‘मेरो छोराको मृत्यु शत्रुसँग लडेर होइन, लामखुट्टेका कारण भयो ।’
अघिल्लो महिना बस्तरमा २ सयभन्दा धेरै प्रहरी जवान मलेरिया संक्रमित भए । आइतबार पनि ५० भन्दा बढी जवान जगदलपुरबाट ल्याई रायपुरका अलग अलग अस्पतालमा भर्ना गरिएको छ ।
पहिला बस्तरको जंगलमा लामखुट्टेको प्रकोप निकै थियो । मलेरियाका कारण कति आदिवासीको मृत्यु हुन्छ त्यसको कुनै लेखाजोखा छैन, किनकि आदिवासी मृतकको संख्या सरकारी तथ्यांकमा समावेश गरिँदैन ।
नागरिक दैनिकबाट