
बारा, १५ मंसिर– गढीमाई मेला समितिले बलि दिइएका राँगाको उचित व्यवस्थापन गर्न नसक्दा मेला क्षेत्र बरियापुर दुर्गन्धित हुन थालेको छ । शुक्रबार ५ हजार राँगाको बलि दिएपछि समयमा सिनो नउठाउँदा दुर्गन्ध फैलिएको हो ।
शुक्रबार सुरु भएको बलि शनिबार सकिए पनि मेला अझै एक साता चल्ने छ । तर, नेपाल र भारतबाट मेला भर्न आएका तीर्थालु दुर्गन्ध खपेर गढीमाई बस्ने कि जोगिन बरियापुर छाड्ने दोधारमा छन् ।
यसरी दुविधामा पर्नेमा बारा गडहल गाविस–२ का शम्भुप्रसाद शाह पनि छन् । गढीमाईमा धीत मर्नेगरी पूजा र रमाइलो गर्न आएका उनि बलि दिइएका राँगाको गन्ध, दिसापिसाब आदिका कारण मेला नभरी फर्कने मुडमा पुगेका छन् ।
‘पाँचवर्षे मेला मन फुकाएर भर्ने धोको थियो, तर यहाँको बिजोग अवस्था देख्दा नरमाइलो लाग्यो’, साहले दुखेसो पोखे, ‘बसुँ भने दुर्गन्धले बसिसक्नु छैन जाउँ भने जताततै दिसाका थुप्रा छन् अब के गर्ने ?’
गढीमाईमा मेला भनै आउने तीर्थालुको संख्या अहिले पनि उत्तिकै छ । सदारमुकाम कलैयादेखि बरियापुर पुग्ने गाडीहरुको ताँती अझै सकिएको छैन । मेला परिसर पुगेपछि भने तीर्थालु टिक्नै सक्दैनन् ।
कान्तिपुर दैनिकबाट