आज दिनभर काठमाण्डुमा अघाेषित कर्फ्यु

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते २:१८ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– सार्क शिखर सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुख आज (मंगलबार) नेपाल आउँदैछन् । विशिष्ट अतिथिहरुको आवागमन बिहानदेखि साँझसम्म जारी रहने र केही पाहुनाको धार्मिक भ्रमणसमेत रहेकाले मंगलबार दिनभरी राजधानीको आवागमन प्रभावित हुनेछ ।

विशिष्ट अतिथिहरुका लागि अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म र त्यहाँबाट अन्य कार्यक्रममा सहज आवागमन व्यवस्था मिलाउन मंगलबार बिहान साढे १० बजेदेखि नै राजधानीका सडक खाली गराउने तयारी छ ।

विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटीदेखि सोल्टी होटलसम्मको सडकमा दिनभरी अन्य सवारी आगमनका रोक लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गौशाला, कोटेश्वर, कुपन्डोल, कलंकीलगायतका मूल सडक र सहायक सडकबाट आउने ठूला तथा बिस्तारै गुड्ने सवारी आधा घण्टा अगाडि नै रोकिनेछन् । राति सबै प्रतिनिधि होटेल पसिसकेपछि मात्र सवारीसाधन चलाउन दिइनेछ ।

मंगलबार बिजोर गते परेकाले बिजोर नम्बरका सवारी मात्र चलाउन पाइने छ ।

महाशाखा प्रमुख डिआइजी केशव अधिकारीकाअनुसार राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सवारी हुने मुख्य रुट मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन हल्का रुपमा खुला गरिनेछ । यही बीचबाट भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेको धार्मिक भ्रमण रहेकाले सवारी आवागमन पूरै खुला नगरिने अधिकारीले बताए ।

भुटानी प्रधानमन्त्री तोग्बे दिउँसो ११ बजेर ४५ मिनेटमा राजधानी आउनेछन् । उनी सोझै सोल्टी होटेलमा जाने कार्यक्रम रहेको छ । त्यहाँबाट स्वयम्भू जाने कार्यक्रम रहेकाले सोल्टीदेखि कलंकी, सीतापाइला र स्वयम्भूसम्मको सवारी खाली गराइनेछ । यो दिउँसो १ देखि २ बजेको बीचमा हुनेछ ।

स्वयम्भूमा केही समयको कार्यक्रमपछि उनी २ देखि ३ को बीचमा पशुपति जाँदैछन् । यसक्रममा कलंकी, सोल्टी, कालिमाटी, थापाथली, नयाँबानेश्र, एयरपोर्ट, पशुपतिसम्मको सडक खाली गराइने छ । उनी फर्कदा पनि ती रुटमा सवारी आवागमन बन्द गरिनेछ । एवं रीतले आज दिनभर भिभिआइपी आउँदा पूरै सडक खाली गरिने छ ।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us