छुट्यो साथ चन्द र वैद्यको

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते १:१३ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले अध्यक्ष मोहन वैद्य नेतृत्वसँग औपचारिक रुपमा सम्बन्धविच्छेद भएको घोषणा गरेका छन् । वैद्य पक्षले पनि त्यसलाई स्वीकार गरेको छ ।

सोमबार सम्बन्धविच्छेद लगत्तै चन्द समूहले भावी रणनीति ‘छिट्टै व्यवस्थित गरेर सार्वजनिक गर्ने’ घोषणा गरेको छ । जारी केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै चन्द समूहले आकस्मिक रुपमा सम्बन्धविच्छेद भएको पत्र बुझाएको हो । संस्थापन पक्षले चन्द समूहलाई ‘वाम खोलमा देखिएको दक्षिणपन्थी प्रवृत्ति’को संज्ञा दिँदै उक्त बहिर्गमनलाई अनुमोदन गरेको हो ।

‘किरण (वैद्य) को नेतृत्वमा पार्टी अगाडि बढ्ना नसक्ने र वर्गसंघर्षको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित सम्बन्धविच्छेद गरेको जानकारी गराउँदछौँ’, चन्दद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित छलफल गरेर सार्वजनिक गर्ने निर्णय पनि लिइएको छ ।

आइतबार चन्द समूहका नेताहरु केन्द्रीय समिति बैठकमा सहभागी थिए । त्यहाँ अध्यक्ष वैद्यले अनुशासन नमान्नेलाई पार्टी छाड्न चुनौति दिएपछि आक्रोशित चन्द पक्षले सम्बन्धविच्छेदको घोषणा गरेको हो ।

चन्द निवास बबरमहलमा आइतबार राति अबेरसम्म बसी सोमबारको बैठकमा सहभागी नहुने निर्णय लिएको थियो ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us