दुर्घटनाका घाइतेको उपचारमा पनि कमिसन !

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १:३० मा प्रकाशित

धनगढी/कञ्चनपुर, ८ मंसिर– विजया दशमीको पर्सिपल्ट डोटीको बागछाडमा बस दुर्घटना भयो । घाइते ल्याउने सम्भावनाका कारण धनगढीस्थित सेती अञ्चल अस्पतालका पाँच विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी तयारी अवस्थामा बसे । तर १ जना घाइते पनि सरकारी अस्पतालमा ल्याइएन । विशेषज्ञ चिकित्सकविहीन कैलालीको अत्तरियास्थित पद्मा सामुदायिक र सेवा नर्सिङ अस्पतालमा घाइतेको भर्ना गरियो । असन्तुष्टि हुँदाहुँदै पनि आफन्त तिनै अस्पतालमा उपचार गराउन बाध्य भए ।

‘रातभर चिकित्सक र नर्स कर्मचारी जागै बसे’, सेती अञ्चल अस्पतालको आकस्मिक सेवा प्रमुख कृष्ण बोहोराले भने । उनकाअनुसार दुर्घटनाका घाइतेका लागि आकस्मिक कक्ष पूरै खाली गराइएको थियो । उपकरण तयारी अवस्थामा थिए । अत्तरियाका अस्पतालले ७२ घाइतेमध्ये गम्भीर ३१ जनालाई भारत रिफर गरे । जबकि १५ किलोमिटर दूरीको अञ्चल अस्पतालमा राम्रो उपचार प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध थिए ।

‘दुर्घटनाका घाइतेका उपचारका नाममा समितिका पदाधिकारी र निजी अस्पतालको राम्रै कमाइ हुने हुँदा अधिकांश घटनामा सरकारीको साटो निजी अस्पतालमा पुर्‍याइन्छ’, बस समितिका एक सदस्यले भने ।

निजी अस्पतालबाट उपचारको बिल बढाएर आर्थिक चलखेल गर्न सकिने भएकोले उक्त दुर्घटनाका घाइतेलाई सेती अञ्चल अस्पताल नलगिएको उनले बताए । ‘बस समितिको उपचार कोष, बिमा आदिमा बिल प्रस्तुत गर्दछन् र पदाधिकारीले पैसा कमाउँछन्’, उनले भने ।

अस्पतालले भारतका सीमावर्ती अस्पतालमा घाइते पठाउँदा जनही १० प्रतिशत कमिसन लिने गरेको घाइतेका आफन्तको आरोप छ ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us