
काठमाण्डु, ८ मंसिर– न्यून तलबमा कार्यरत नेपालीसहित ७ सय कामदार कतारमा दुईदिन देखि हड्तालमा उत्रेका छन् ।
त्यसमा झन्डै छ सय नेपाली छन् । कतारस्थित नेपाली दूतावासका अनुसार निकै कम तलबमा काम गर्नुपरेका उनीहरुले तलब बृद्धि हुनुपर्ने माग राखेर हड्तालमा उत्रिएका हुन् ।
‘कामदारहरुको माग तलब बढाउनुपर्छ भन्नेछ’, श्रम सहचारी लिलानाथ दाहालले भने,’उनीहरु यही तलबमा काम गर्ने पक्षमा छैन् ।’
ती कामदारहरुले न्यूनतम तलब ६ सय रियालमा काम गर्दै आएका छन् । उनीहरुले नेपाल सरकारले तोकेबमोजिम ९ सय रियाल हुनुपर्ने माग अघि सारेका छन् । ।
‘६ सय रियाल निकै कम तलब भयो । यसले दैनिक खाना खान मात्र ठीक हुन्छ’, बर्दियाका नरेन्द्र थापा मगरले भने,’अब न्यून तलबमा काम गर्दिन् ।’
ती कामदार शनिबारदेखि लेबर क्याम्मै बसेका छन् । उनीहरु कतार फ्रिल्यान्स ट्ेरडिङ एण्ड कन्ट्रक्टीङ र कतार मिडिलिष्ट कम्पनीमा कार्यरत छन् ।
कामदारले नेपाल सरकारले तोकिएको तलब दिन नसक्ने भए नेपाल पठाइदिन माग राखेका छन् । कम्पनीले कामदारले माग गरे बमोजिम तलब बढाउन नसक्ने बताएको छ ।
‘हामी एकैपटक कामदारको तलब बढाउन सक्तैनौं’, कम्पनीका म्यानेजर हमिद खानको भनाई उद्धत गर्दै श्रम सहचारी दाहालले भने,’बरु कामदार स्वदेश पठाउन तयार छौं ।’
नेपाल सरकारले लागु गरेको तलब त्यहाँका कम्पनीहरुले अझै दिने गरेको छैन् । कम्पनीले ती कामदारलाई पुर्नर्विचार गर्न आग्रह गरेको छन् ।
कामदारको अवस्था आइतबार बिहान श्रमसहचारी दाहाल हड्ताल स्थानमा पुगेका थिए । त्यहाँ कतारका सरकारी अधिकारीहरु पनि पुगेका थिए ।
‘काम निकै गार्होा हुन्छ । केही जोगाउन नसक्ने भए गरेर अर्थ हुदैन’, चार बर्षदेखि काम गर्दै आएका थापा मगरले भने,’बरु हामीलाई सकुशल घर पठाइदिनु नै बेस हुनेछ । यसमा हामी खुसी हुनेछौं ।’ उनीहरु काममा नफर्के कम्पनीले स्वदेश पठाइदिने छ ।
कान्तिपुर दैनिक