
काठमाण्डु, ७ कात्तिक– चलचित्र निर्माता छविराज ओझाले आफ्नो ५० औं जन्म दिनका अवसरमा पूर्वपत्नी रेखा थापालाई सम्झिएका छन् ।
जन्म दिनका अवसरमा आइतबार राजधानीमा आयोजित एक भव्य कार्यक्रममा छविले भावुक हुँदै रेखालाई सम्झिएका थिए ।
उनले व्यक्तिगत जीवन र चलचित्र निर्माणको महत्वपूर्ण क्षणहरुमा आफूलाई रेखाले साथ दिएको स्मरण गर्दै धन्यवाद दिए । ‘सिनेमा निर्माण र अभिनयमा साथ दिएकामा अभिनेत्री रेखा थापालाई धन्यवाद दिन चाहन्छु’, छविले भने ।
व्यक्तिगत असमझदारीको कारण देखाउँदै छवि र रेखाले १२ वर्ष लामो वैवाहिक जीवन अन्त्य गर्दै आपसी समझदारीमा दुई वर्षअघि सम्बन्ध बिच्छेद गरेका थिए । रेखालाई छविले नै चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए ।
रेखाले छविको चलचित्र ‘हिरो’ बाट डेब्यु गरेकी थिइन् । कार्यक्रममा छवि नजिकका निर्माता, निर्देशक, नायक, नायिका, गायक तथा संगीतकारहरुको उपस्थिति थियो । तर आफ्ना पूर्वपतिले गरेको प्रशंसा सुन्न रेखा भने कार्यक्रममा थिइनन् ।