काठमाण्डू, ६ साउन– कांग्रेस नेता मोहन बस्नेतले पार्टी फुटाउने नभई पार्टी बनाउने अभियानका लागि राष्ट्रिय भेला बोलाउनुपर्ने बताएका छन । आज (बुधबार) बीपी स्मृति दिवसका अवसरमा आयोजित समारोहमा उनले यस्तो बताएका हुन ।
उनले नयाँ पार्टी बनाउन खुट्टा कमाउन नहुने समेत बताए । उनले शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस तीनवटै तहमा पहिलो पार्टी बने पनि गगन थापा समूहले खरानी दस्ता भनेर नामकरण गरेको भन्दै आलोचना समेत गरेका छन । २१ फागुनको चुनावमा गगन थापाको नेतृत्वमा जाँदा उनी आफैँ चुनाव हारेको दृष्टान्त पेस गर्दै बस्नेतले को हो त असली खराने दस्ता भनेर प्रश्न गरेका छन ।
बस्नेतले काठमाण्डू ४ बाट थापाले चुनाव लडेको भए जमानत जफत हुने अवस्था रहेको समेत दाबी गरे । उनले काठमाण्डू ४ मा सिन्धुपाल्चोकका मात्रै ९ हजार मतदाता रहेको बताउँदै सबै मतदाताको भावना बुझेर आफूले यो अभिव्यक्ति दिएको समेत बताए ।
उनले कांग्रेस कमजोर भए प्रजातन्त्र मात्रै दुर्घटनामा पर्ने नभई मुलुक कसको हातमा जाने हो भन्ने चिन्ता रहेको बताउँदै तत्काल केन्द्रीय भेला बोलाउन माग गरे । उनले अब एकताको रटान लगाएर अर्थ नहुने बताउँदै देशभर प्यारालाल संगठन निर्माण गरेर प्रजातन्तवादीहरूलाई एकजुट बनाउनुपर्ने बताए ।
प्रजातन्त्रवादीहरू गगन थापाको सती जान नसक्ने बस्नेतले बताए । बस्नेतले कांग्रेसको विशेष महाधिवेशन आन्तरिक कारणले मात्रै नभएको बताउँदै कांग्रेस कमजोर बनाउने षड्यन्त्रकारीहरूको प्रयोग सफल भएको बताएका छन ।