काठमाण्डु, २ मंसिर–व्यवसायका लागि आठ लाख रुपैयाँ ऋण लिएका गोरखा छेवेटारका हीराकाजी श्रेष्ठले साहुले बदमासी गर्ला भनेर कहिल्यै सोचेनन् । तर साहुको कर्तुत थाहा पाउनुअघि उनको ८ रोपनी जग्गा र घरसमेत गुमिसकेको थियो । बन्धकी राख्ने भनिएको घरजग्गा आफूबाट राजीनामा पास गराएर लिएको रहेछ भन्ने पत्तो पाउँदासम्म हीराकाजी पूरै सुकुम्बासीमा परिणत भइसकेका थिए ।
ऋण लिएबापत दृष्टिबन्धकमा राखेको २ रोपनी खेत, ६ रोपनी पाखोबारी र घर झुक्याएर राजीनामा पास गरेकाले आफ्नो उठीबास भएको हीराकाजीले बताए । ती घरजग्गा उनले ५ वर्षअघि गोरखा नगरपालिका ११ किलोका ५५ वर्षीय शंकर धितालसँग बन्धकी राखेर ऋण लिउका थिए ।
‘ब्याज महिनैपिच्छे तिर्दै आएको छु, साँवा पनिा दिन्छु भन्दा पनि घरजग्गा फिर्ता गर्न मान्दैनन्’, गोरखा नगरपालिका –९ का हीराकाजीकी श्रीमतीले भनिन्, ‘अहिले घरजग्गा फिर्ता माग्दा २२ लाख रुपैयाँ चाहियो भन्दछन् ।’ अहिले साहु शंकर धितालले घरजग्गा छोडेर जान भन्दै पटक–पटक धम्काउने गरेको उनले बताइन ।
छोटेवरकै रामकृष्ण कुमालले पनि २०६२ सालमा ५ कित्ता जग्गा बन्धकी राखेर धितालसँग ४० हजार रुपैयाँ ऋण लिएका थिए । ऋण तिर्नका लागि भनेर जग्गा बेच्न खोज्दा धितालले पहिल्यै नामसारी गरेर लिइसकेको उनले थाहा पाए । रामकृष्ण पनि हीराकाजीजस्तै सुकुम्बासी भइसकेका छन् ।
रामकृष्णकै दाजु महेन्द्रले धितो राखेको २ कित्ता जग्गा पनि धितालले रजिस्ट्रेसन पास गरिसकेका छन् ।
धितालले भने यो आफ्नो व्यवसाय भएको दावी गरेका छन् । ‘साँवाब्याज तिर्ने व्यक्तिको जग्गा फिर्ता गरिदिन्छु’,उनले भने, ‘यो मेरो व्यवसाय हो ।’
कान्तिपुर दैनिकबाट