
काठमाण्डू, १६ असार– कांग्रेस सांसद डिगबहादुर लिम्बुले विद्यालय शिक्षा विधेयकमा सबैलाई खुसी बनाएर जान नसक्ने भन्दै आजै पास गर्नु पर्ने तर्क गरेका छन । आज (सोमबार) शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस सांसद लिम्बुले यस्तो बताएका हुन ।
उनले देशभरीका शिक्षकलाई खुसी बनाएर जान नसक्ने पनि बताए । उनले भने, ‘देशैभरिकालाई खुसी भएर जान सकिँदैन। शिक्षा मन्त्री ज्यू र प्रमुख सचेतक श्याम घिमिरे ज्यूले समय माग्नु भएको छ।
शिक्षकसँग भएको ९ बुँदे सहमति अहिले आएर २७ बुँदे भएको छ । ७५–२५ गरौ भन्ने आएको छ ।’ उनका अनुसार विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न उपसमितिमा ६०र४० को स्थिति भएको छ । ‘ यो विधेयक नआउने हो कि भन्ने भएको छ। हामी कसैको दास होइनौं ८ बजेदेखि पर्खेर बसेको, ‘ उनले भने, ‘अब यसबारेमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।
दलीय स्वार्थभन्दा माथि उठ्नु पर्छ ।’ उनले शिक्षामन्त्री लचिलो हुनु केही कारण भएको भन्दै बैठक कहिलेसम्म रोक्ने भन्दै प्रश्न गरे । उनले भने, ‘बैठक रोक्ने हो भने कहिलेसम्म रोक्ने ? कार्यक्षेत्रमा जानू छ ।’ उनले अब यो विधेयकमा छलफलमा नआउने भन्दै आजै सक्नुपर्ने बताए। ‘यो विधेयक अब छलफलमा आउँदैन, त्यसकारण आजै सक्नुपर्छ।’
उनले आफू ६०–४०मा अडिग रहेको भन्दै कि फिर्ता गर्न वा अध्यादेश ल्याउन माग गरे। ‘६०–४० मा अडिग छु म । कि फिर्ता गर्नुस् । अध्यादेश ल्याउनुस ।’ उनले भने ।