विद्यालयको जग्गा भाडामा लिएर केराखेती

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १२:३० मा प्रकाशित

banana-treeकञ्चनपुर, ३० कात्तिक– कञ्चनपुरको दक्षिणी क्षेत्र देखतभूली–१ चाँनदेउमा रहेको रामेश्वर प्राथमिक विद्यालयको साढे चार बिघा जग्गामा स्थानीय तीनजना युवाले केरा फार्म सञ्चालन गरेका छन् ।

विद्यालयको जग्गामा केरा फार्म सञ्चालन गर्दै आएका वीरबहादुर चौधरी, कर्मु राना र नन्दकुमार रानाले चार वर्षको अवधिमा रु ३० लाख आम्दानी गरेका छन् ।

विलियम्स जातको केराको खेती गर्दै आएका युवाले विद्यालयलाई पाँच वर्षको रु दश लाख दिने गरी जग्गा भाडामा लिएका छन् ।

वार्षिक रुपमा केराखेती गरेर पहिला रु दश लाखसम्म आम्दानी हँुदै आएकामा यस वर्षदेखि व्यावसायिक रुपमा खेतीलाई विस्तार गरिएकाले दोब्बर आम्दानी हुने केराखेतीमा संलग्न वीरबहादुर चौधरीले बताए ।

खेतमा उत्पादन भएको केरा कैलालीको अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बिक्री हुने गरेको छ ।

केरा बिक्री गरेर आएको रकम खर्चेर तीनैजना युवाले घर खर्च चलाएर बाँकी रहेको रकम बैंकमा बचत गर्न थालेका छन् । केराखेतीको कमाइले तीनैजनाले कच्ची टायलले छाएको काठको घरको साटो पक्की घर बनाएका छन् । सिँचाइका लागि घरघरमा विद्युतीय मोटर जडान गरेका छन् ।

परिश्रम गर्नु परेपनि केराखेतीबाट अन्य खेतीको तुलनामा बढी आम्दानी दिने र सहजै बजारमा बिक्री गर्न सकिने भएकाले यसमै भविष्य देख्न थालेको चौधरीले भने, ‘केराखेतीलाई निरन्तरता दिँदै आएका सबैजना शिक्षित भएकाले खेतीलाई व्यवसायमुखी तरिकाले अगाडि बढाउँदा प्रतिवर्ष आम्दानी बढ्दै गएको छ ।’

केराबाट रामै्र आम्दानी हुन थालेकाले निजी १२ कट्टा जग्गामा यस वर्षदेखि केराखेतीलाई विस्तार गरेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवाभन्दा घरमै बसीबसी केराखेती गरेर बढी आम्दानी लिन थालेका छौँ, अर्का कृषक कर्मु रानाले भने, ‘विदेशमा गर्ने परिश्रम स्वदेशमै गरे बढी कमाइ गरी समाजमा सम्मानका साथ बस्न सकिन्छ ।’

केराखेतीका लागि तीनैजनाले सिँचाइ, मलखाद, किटनाशक र गोडमेलमा गरी रु सात लाख ५० हजार लगानी गरेका छन् । तीनैजनाले पालैपालो केराबारीमा काम गर्ने गरेका छन् ।

प्रत्येक छ महिनामा प्रतिकिस्ता एक लाखका दरले रकम तिर्नु पर्नेगरी जग्गा भाडामा दिइएको छ । विद्यालयको जग्गामा केराखेती हुनुअघिसम्म बाँझो रहने गरेको थियो । केराखेती गर्नका लागि भाडामा दिइएपछि विद्यालयको आम्दानीसमेत बढेको छ ।

विद्यालयले चारजना निजी स्रोतमा काम गर्दै आएका शिक्षकको तलब र विद्यालयको भवन बनाउनका लागि केराखेतीबाट आउने रकम परिचालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद जोशीले बताए ।

केराखेतीबाट आएको किस्ताको रकममध्ये रु पाँच लाख खर्चेर टिनको छानो रहेको विद्यालयमा पक्की लेण्टर राखिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us