
काठमाण्डू, २० असार– नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा कम्युनिष्ट पार्टीहरुबीच पुनः एकता र ध्रुवीकरण हुन सक्नेबारे कुरा उठेको छ ।
शुक्रबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले कम्युनिष्ट पार्टीहरुबीच एकताको सम्भावना बढेर गएको विश्लेषण सुनाएका छन् । खास गरी सत्तारुढ एमालेभित्र उत्पन्न विवाद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किएको घटनाले कम्युनिष्ट एकताको संकेत गरेको उनको भनाइ थियो ।
‘नेपालमा अचम्म तरिकाले कम्युनिष्ट पार्टीहरू बलियो हुँदै गए विगतमा’, पोखरेलले भने, ‘अहिले नेकपा एमालेमा देखिएको राजनीतिक चलखेलले नेपालमा फेरि कम्युनिष्ट एकता नहोला भन्न सकिँदैन ।’
उनले मकुलुकमा लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन सुशासनमा जोड दिँदै आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने बताए ।
उनले जनआकांक्षा सम्बोधन गर्नु कांग्रेसको दायित्व भएको भन्दै जनताको राजनीतिक र अर्थसामाजिक चाहनाहरूको विश्लेषण नगरी नेतृत्वबाट तदर्थ निर्णय गर्नु उचित नहुने तर्क गरे ।
जनताको धारणा र सुझाव सुन्ने संस्कार बलियो बनाउन सके काँग्रेस थप सशक्त र लोकप्रिय हुने पोखरेलले बताए ।
एमाले नेतृत्वको काँग्रेस सम्मिलित वर्तमान सरकारले मुलुकमा सुशासनको आभास नदिएको तथा र संसदीय प्रणालीलाई पंगु बनाउने जस्ता कार्यले जनतामा निराश बढेको विश्लेषण पनि उनले सुनाए । उनले सरकार गठन भएको एक वर्ष बित्दा पनि सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक नगरेकामा आपत्ति जनाए । काँग्रेसका मन्त्रीहरुले मात्र भए पनि एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने विचार पोखरेलले व्यक्त गरे ।
‘हामीले गठबन्धन गरेर सरकारको स्थिरता त दिएका छौं । तर नीतिगत स्थिरता दिन सकेको छैन। राजनीतिक अस्थिरता निम्त्याउने, फजुल खर्च बढाउने, र केही समुदाय र वर्गको मागलाई सम्बोधन गर्न असफल भएको परिपेक्षमा हामीले संविधान संशोधनको वाचा गरेका थियौं, तर पछिल्लो एक वर्षमा हामीले त्यो एजेण्डा बिर्सिएका छौं’, पोखरेलले भने, ‘ यो केन्द्रीय समितिले सरकारलाई अबिलम्ब संविधान संशोधनको कार्य सुरु गर्न निर्देशन दिनुपर्छ ।’
कांग्रेसको गतिशिलताले मात्र मिसन ८४ लिएर हिँडेका एमाले र नयाँ दलहरूसँग प्रतिप्रधा गर्न सक्ने उनले बताए ।