प्रहरीका एसपीलाई ‘लुटेरा’ भनेपछि जसपा मधेस प्रदेश अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु टुडे २०८२ असार २० गते २०:२५ मा प्रकाशित

काठमाण्डू, २० असार– अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अध्यक्ष यादवविरूद्ध आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

यादवले सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा ‘प्रहरी संगठनमाथि लुटेरा’ को आरोप लगाएका थिए । यादव र खड्काबीच बिहीबार भएको संवाद् सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उक्त संवादमा यादवले प्रहरीहरु ‘मधेसमा लुट्न आउने’ गरेको आरोप लगाएको सुनिन्छ । यादवले व्यवसायीलाई दुःख दिएको भन्दै प्रहरीप्रति आक्रोश पोखेका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी विनोद घिमिरेले उक्त प्रकरणबारे छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले घटनामाथि छानबिन र कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us