
नवलपरासी, २७ कात्तिक– मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए ।
परिवारको मुख्य सदस्य गुमाउँदाको सबै पीडा झेले । गावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई बेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उनकी पत्नी तुलसालाई भेट्न रेड्क्रस अन्तर्राष्ट्रिय प्रतिनिधि घरमै ४–५ पटक आए । अरु मानवअधिकारकर्मी पनि धाए ।
सुरुमा रेडक्रसका मान्छेलाई बेवास्ता गरिन् । कुरा बुझेपछि बेपत्ताको सूचीमा नाम लेखाउन तयार भइन् । आफूले पनि पतिको खोजीमा सघाउन थालिन् । केही पत्तो लागेन । परिवार र आफन्त निराश बने ।
तुलसा बेपत्ता समाज नेपालको कोषाध्यक्ष र जिल्ला उपाध्यक्ष बनिन् । बेपत्ताको परिवारको सूचीमा परेकाले उनले राज्यबाट ३ लाख २५ हजार नगद राहत लिएको जनाइन् ।
नवलपरासीबाट द्वन्द्वकालमा बेपत्ता पारिएका १४ मध्ये रामलालको नाम १२ औं नम्बरमा छ । तिनै रामलाल कात्तिक २० गते बिहीबार बिहान ४ बजे घर आइपुगे । पूर्वपश्चिम राजमार्गस्थित कावासोती थानामा झर्दा ठूला घर देखेर दंग परे ।
उनी आफ्नो घरतर्फ लागे । झुक्किएर घर छाडेर टाढा पुगेछन् । उनी बेपत्ता भएको १६ वर्षपछि फर्किएका थिए । उनी ०५५ मा पोखराको चिप्लेढुंगामा सामान्य तरकारी पसल गर्थे । त्यसबेला उनका साथीले ‘तँलाई माओवादी भएको आरोपमा प्रहरी खोजी गरेको छ’ भन्ने सुनाएपछि २५ वर्षीय रामलाल बेखबर भए ।
उनी ०५५ कात्तिक ३ गते कावासोतीस्थित घर आए । फेरि कसैले पत्तो नपाउने गरी बिहान ४ बजे घर आएका उनी एक घन्टापछि रुपन्देहीको सुनौली नाका हुँदै दिल्लीको नजबगढ पुगे ।
उनी फर्किएपछि तुलसा हर्सित छिन् । ‘आउनुहोला जस्तो त लागेको थियो,’ उनले भनिन्,‘अन्य जिल्लामा १५–१६ वर्षपछि घर फर्केको सुन्दा अलिअलि आशा थियो ।’
कान्तिपुर दैनिकबाट