पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर मुद्धा दायर

काठमाण्डु टुडे २०८२ असार १६ गते २१:५५ मा प्रकाशित

काठमाण्डू, १६ असार– पत्रकार दिलभूषण पाठकमाथि विद्युतीय कारोबारसम्बन्धी अपराधमा मुद्धा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाण्डू जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअनुसार अभियोगपत्र दर्ता गरेको हो ।
सह–न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार नेपाल प्रहरीको साइबर ब्युरोबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा सो मुद्दा अगाडि बढाइएको हो ।

ब्युरोले असार १३ गते प्रतिवेदन बुझाएको थियो । पाठकलाई गिरफ्तार नगरी अभियोग दर्ता गरिएको हो । जेठ २८ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भए पनि उच्च अदालत पाटनले त्यसमा रोक लगाउँदै असार २ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले असार ५ मा पुनः आदेश जारी गर्दै पत्रकारलाई पक्राउ नगर्न स्पष्ट भनेको थियो ।

सञ्चार माध्यममार्फत सार्वजनिक गरिएका सामग्रीहरूप्रति गुनासो भएमा प्रेस काउन्सिलमार्फत कानुनी प्रक्रिया अगाडि बढाउन सकिने प्रावधान भएकाले विद्युतीय कारोबार ऐन अन्तर्गतको अनुसन्धान आवश्यक नरहेको अदालतको आदेशमा थियो ।

पाठकले आफ्नो युट्युब च्यानलमार्फत काठमाण्डूको हिलटन होटल कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले खरिद गरेको रिपोर्ट प्रसारण गरेका थिए ।

उक्त सामग्री सार्वजनिक भएपछि देउवापुत्र जयवीरले पाठकविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us