नागार्जुनका मेयर मोहन बस्नेत भ्रष्टाचारी ठहर, ११ वर्ष तीन महिना जेल सजाय

काठमाण्डु टुडे २०८२ असार १६ गते २१:३४ मा प्रकाशित

काठमाण्डू, १६ असार– विशेष अदालतले काठमाण्डूको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै बस्नेतलाई ८ वर्ष कैद सजाय सुनाएको हो ।

यस्तै सार्वजनिक जिम्मेवारीमा रहँदा भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भएकाले थप ३ महिना कैद सजाय तोकिएको छ । यस्तै अदालतले बस्नेतलाई घूस खुवाउने कार्यमा संलग्न राजुप्रसाद कँडेल, पद्मा कोलोनी प्रा.लि. र र पद्मा मर्चेन्ट कम्पनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर गरेको छ ।

अदालतले बस्नेत र कँडेलदलाई जनही २ करोड ३० लाख रुपैयाँभन्दा बढी जरिवाना तिर्नु पर्ने फैसला सुनाएको छ । साथै, सोही रकम बराबरको सम्पत्ति जफत गर्न आदेश दिइएको छ ।

अदालतले बस्नेतले १३ करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको देखिएकाले मनी लाउन्डरिङसम्बन्धी ऐनअनुसार थप ३ वर्ष कैद र बिगोको दोब्बर अर्थात् २६ करोड रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्ने ठहर गरेको छ । सम्पत्ति र जग्गा समेत राज्यले जफत गर्ने निर्णय भएको छ ।

‘मोहनबहादुर बस्नेत तथा राजुप्रसाद कँडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम जनही ८ (आठ) वर्ष कैद सजाय हुने ठहर्छ,’ विशेषको आदेशमा भनिएको छ, ‘सोको अतिरिक्त नगरपालिकाको प्रमुख जस्तो ओहोदामा बहाल रही उक्त कसूर गरेको देखिन आएको ले ऐनको दफा २४ बमोजिम ३ (तीन) महिना थप कैद सजाय समेत हुने ठहर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० पुस १५ गते विशेष अदालतमा भ्रष्टाचार र मनी लाउन्डरिङसम्बन्धी मुद्दा दायर गरेको थियो । बस्नेत नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित चएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us