
काठमाण्डु , २६ कात्तिक– एउटै रुखबाट १२ लाखसम्म आम्दानी हुन्छ ? हुँदो रहेछ । संखुवासभाको सदरमुकाम खाँदबारी नजिकैको एउटा गाउँमा रुद्रक्षको एउटै बोटबाट १२ लाख कमाइ भएको छ । ढुंगेधाराका किसान लक्ष्मीकुमार श्रेष्ठले एउटै बोटबाट यतिधेरै आम्दानी गरेका छन् ।
कन्ठे भनिने पाँचमुखे रुद्राक्ष बेचेर उनले एउटै बोटबाट १२ लाख ११ हजारसम्म आम्दानी गरेको बताए । तीन वर्षअघिदेखि फल्न थालेको यो बोटका सबै रुद्राक्ष एकनासको र बोक्रा समेत नखोलीकनै बेचेर उनले राम्रो आम्दानी गरेका छन् र यो बोटमा १ हजार ३ सय रुद्राक्ष फलेका थिए ।
‘मेरो घर छेउको रुद्राक्षको बोटमा ठूल्ठूला दाना फले, ग्रहाकहरु बोटमै किन्न आएपछि मैले बोक्रा नखोली बेचेँ’, श्रेष्ठले भने, ‘त्यसबाट १२ लाख ११ हजार पाएँ ।’ उनले प्रति दाना १५ सयमा बेचेको बताए । कमाइ भएको पैसाले साहुको ऋण तिरेको र छोराछोरीलाई पढाउन सहज भएको उनले बताए ।
कान्तिपुर दैनिकबाट