सुशील ‘दा’ का सहयोगी एकपछि अर्को गरी टाढिँदै

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते २:१० मा प्रकाशित

sushil koiralaकाठमाण्डु, २५ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाका पुराना सहयोगीहरु क्रमस: टाढिँदै गएका छन् । प्रधानमन्त्री नहुँदैदेखि साथ दिँदै आएका अनुभवी नेताहरु पनि कोइरालासँग चिढिएका छन् ।

कुनैबेला सरकार र सरकार चलाउने कोइरालाका खास सल्लाहकार मानिने कांग्रेस प्रवक्ता दीलेन्द्र बडू, संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, दीलबहादुर घर्ती, पद्मनारायण चौधरी, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मन्सुरलगायत नेता अचेल किनारा लागेका छन् ।

कुनैबेला उनीहरु कोइरालाको ‘किचेन क्याबिनेट’का प्रभावशाली सदस्य मानिन्थे । अचेल उनीहरु कोइरालासँग सन्तुष्ट छैनन्, कोइरालाले पनि खासै ‘लिफ्ट’ दिएका छैनन् ।

प्रधानमन्त्री कोइरालाले पछिल्लोपटक मन्त्रीपरिषद् विस्तार गरुञ्जेल पनि त्यो समूहको बालुवाटारमा आउजाउ बाक्लै थियो । ‘बिहान सुशील’दा उठ्नुअघि पुग्ने बेलुका सुतेपछि फर्किने’ गर्छन् भनेर कांग्रेसवृत्तमै उनीहरुमाथि ब्यंग्य हुन्थ्यो ।

प्रवक्ता बडू र संगठन विभाग प्रमुख ढुंगानाबाहेक त्यो समूहका अन्य सदस्य अचेल बालुवाटार ओहोरदोहोर कमै गर्छन । बडू र ढुंगानाको आउजाउ पनि पातलिएको छ । स्रोतका अनुसार उनीहरुले पनि विगतमा जस्तो निकट भएर सल्लाह दिँदैनन्, कोइरालाले पनि सल्लाहका निम्ति उनीहरुभन्दा अरुलाई नै रोज्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us