
काठमाण्डू, २४ कात्तिक– सुन तस्करमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउनका लागि घुस लिने कार्यमा त्रिवि विमानस्थल भन्सार कार्यलयका प्रमुखको नै संलग्नता रहेको तथ्य खुलेको छ ।
घुस लिँदालिँदै गत शुक्रबार राति पक्राउ परेका विमानस्थल भन्सार कार्यलयका नासु हरिवंश कार्की र सुरेश थपलियाले घुस प्रकरणमा विमानस्थल भन्सार प्रमुख सुदीपचन्द्र शाहको संलग्नता रहेको तथ्य खोलेका हुन । यी दुई नासुको बयानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल घुस प्रकरणमा शंकास्पद भूमिका देखाएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यलयका निमित्त प्रमुख शाहलाई निलम्बन गर्न निर्देशन दिएको छ ।
भारतीय नागरिकलाई सुन तस्करीमा मुद्दा मिलाइदिने भन्दै शुक्रबार साँझ २१ लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका भन्सार कार्यलयका नायव सुब्बा हरिवंश कार्कीले निमित्त प्रमुखको आदेश पालना गरेको बयान दिएका थिए ।
उनीपछि थप ५१ लाख रुपैयाँसहित पक्राउ परेका अर्का नासु सुरेश थपलियाले पनि शाहकै निर्देशनमा सो रकम लिएको बयान दिएका थिए । सोही आधारमा अख्तियारले शाहलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
राजधानी दैनिकबाट