निजामती विधेयकमा हेरफेर जनताप्रतिको घोर अपराध, संसदप्रतिको अपमानः शेखर कोइराला

काठमाण्डु टुडे २०८२ असार १७ गते १०:०० मा प्रकाशित

काठमाण्डू, १७ असार– नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संसदीय प्रक्रियाबाट सर्वसम्मत रूपमा पारित भएको निजामती सेवा

विधेयकमा संसदमा पेस गर्नुअघि अनधिकृत रूपमा गरिएका संशोधनहरूलाई ‘घोर अपराध’ भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत कोइरालाले त्यसले संसदको सम्मानमाथि नै प्रहार गरेको टिप्पणी गरेका हुन् ।

‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको परिवर्तनप्रति आपत्ति जनाउँदै कोइरालाले लेखेका छन्, ‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो ।’

यस्तो किसिमको हेरफेरले विधायिका र लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाउने खतरा बढेको उनको भनाइ छ । कोइरालाले यस घटनामा संलग्न सबैलाई कडा कारबाहीको मागसमेत गरेका छन् ।
कोइरालाले अगाडि थपेका छन्, ‘यस प्रकरणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ ।’

विवादको केन्द्रमा रहेको ‘कुलिङ पिरियड’ को व्यवस्था अनुसार अवकाशप्राप्त निजामती कर्मचारीहरूले दुई वर्ष नपुगी कुनै सरकारी वा संवैधानिक पदमा नियुक्ति लिन नपाउने प्रावधान थियो । तर, अन्तिम समयमा विशिष्ट श्रेणीका कर्मचारीहरूलाई त्यसबाट छुट दिन ‘बाहेक’ भन्ने शब्द थपिएको देखिएको छ । जसले ती कर्मचारीहरूलाई फेरि नियुक्तिको ढोका खोलिदिएको भन्दै चर्को आलोचना भएको छ ।

कोइरालाको यस्तो व्यवस्था कायम राखेर विधेयक अघि बढ्न नसक्ने स्पष्ट गरेका छन् । ‘कुलिङ पिरियड’ नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नुहुन्न’ , उनले भने । प्रतिनिधिसभाबाट पारित उक्त विषयेक राष्ट्रियसभाले पारित गरेर राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र कानूनको रुप लिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us