तालिम नै नलिई गाडी चलाउँछन् चालक

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १:०२ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– नेपालका सडकमा गुड्ने सार्वजनिक सवारी साधानका चालकले लाइसेन्स लिँदा सिकेकै भरमा यात्रुको जीवन आफ्नो हातमा लिन्छन् ।

न त यातायात व्यवसायी, न सरकार कसैले पनि सार्वजनिक सवारीका चालकलाई सडक व्यवहार र संवेदनशीलता सिकाउने तालिम दिन चासो दिएका छैनन् ।

सरकारले लाइसेन्स लिनुअघि निजी ड्राइभिङ इस्टिच्युटबाट लिएको सैद्धान्तिक र व्यवहारिक ज्ञान नै उसका लागि जीवनभरको तालिम हो । खलासीबाट अपग्रेट भएर चालक बन्नेहरु त झन् सडकमै सिक्छन् सबै ज्ञान । सार्वजनिक सवारीका चालकले जति पनि सडक व्यवहार सिक्छन्, ड्राइभिङ सिटमै सिक्छन् ।

दुर्घटना कम गर्न के चालकलाई सडक संवदेशनशीलता, व्यवहार र जीवनमूल्य सिकाउनु पर्दैन ? सरकारले दुर्घटना न्यूनीकरण गर्न चालकलाई चेतना अभिमुखीकरणसम्बन्धी एउटा पनि तालिम नगराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनाल बताउँछन् ।

सरकार यातायात व्यवसायीसँग बढी राजश्व असुल्नमै व्यवस्त रहेको खनालको आरोप छ । सरकारले सवारीसाधनबाट उठाएको करको २५ प्रतिशत मात्रै सवारी व्यवस्थापनमा लगानी गरे यातायात क्षेत्रको विकास हुने उनको दाबी छ ।

गत आर्थिक वर्षमा यातायात व्यवस्था विभागले आठ अर्ब ६० करोड ५९ लाख ९१ हजार राजश्व उठाएको थियो ।

सरकारले यातायात क्षेत्रको सुधारका लागि गरेको खर्च भने शून्य छ । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले चालकलाई विशेष तालिम दिन नसक्नु सरकारको कमजोरी रहेको स्वीकार गरे ।
अन्न्पूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us