दुर्घटनामा जनता मर्दा सरकार रमिते बनेको सभासदको आरोप

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १४:३० मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा सभासदहरुले मुलुकका विभिन्न भागमा भएका सवारी दुर्घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
उनीहरुले घाइतेको नि:शुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सभामुखसँग समय माग गर्दै उनीहरुले पछिल्लो दिनमा नुवाकोट, ओखलढुङ्गा, मकवानपुर, डोटीलगायत जिल्लामा भएका सवारी दुर्घटनामा परी धेरैको निधन र दर्जनौं घाइते भएको भन्दै सरकारको त्यसतर्फ ध्यान नगराएकामा आपत्ति प्रकट गरे ।

सवारी दुर्घटना रोक्नेतर्फ सरकारी प्रयास नभएको, दोषीलाई सामान्य सजाय गरेर छाडिएको, कैयौं नागरिकको अकालमा मृत्यु हुँदा समेत सरकार संवेदनशील नभएकामा सभासदहरुले सदन र सरकारको ध्यानाकर्षण गराएका थिए ।
हुतहुतका कारण सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, गोरखालगायत जिल्लामा भीषण असिना पानीका कारण धान मकै, कोदो, तरकारी बाली क्षति भएको  र किसानको हातमुख जोर्ने अवस्थासमेत नरहेको भन्दै सभासदहरुले तत्काल उच्चस्तरीय समिति गठन गर्न सुझाव दिए ।

यसरी माग गर्नेहरुमा रामहरि खतिवडा, अग्निप्रसाद सापकोटा, यज्ञराज सुनुवार, सकुन्तलाराज भण्डारी, राधिका तामाङ र रामहरि सुवेदी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us