सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १३:१४ मा प्रकाशित

चितवन , १६ कात्तिक – चितवनमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज १९१८ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट जाँदै गरेको ग ५ प ५२२० नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक आँबुखैरेनीका ४० वर्षीय महेश्वर भट्टराईको मृत्यु भएको हो ।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । मोटरसाइकल पछाडि बसेका गोरखाका कृष्णसिंह बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ ।

त्यस्तै मध्याह्न १२ बजे भरतपुर ओरालोमा नारायणगढतर्फ जाँदै गरेको को ३ प ५३१६ नम्बरको मोटरसाइकलले शुक्रनगरकी ६० वर्षीया खगिसरा भूसाललाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी भूसालको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us