काठमाण्डु, १६ कात्तिक – पहिचानसहितको संघीयताका लागि दबाब दिन आदिवासी–जनजाति समुदायले आइतबार राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् । जातीय पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान भन्ने नारा सहित ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ घोषणा गरिएको हो ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको घोषणा सभामा मानवअधिकारीवादी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको अध्यक्षतामा आन्दोलनको सुरु भएको जानकारी दिइयो ।

कार्यक्रममा आदिवासी जनजातिको अधिकार संविधानमा सुनिश्चित गराउनका लागि आन्दोलन आवश्यक भएको घोषणापत्र समेत सार्वजनिक गरियो । घोषणापत्रमा जातीय पहिचानसहितको संघीय संविधान निर्माण गर्न, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न र आत्म निर्णयको अधिकार सुनिश्चित गर्न दबाबमुलक कार्यक्रम गर्ने उल्लेख छ ।
सभामा कांग्रेस, एमाले, एमाओवादी लगायत दलका जनजाति पृष्ठभूमिका नेताहरु सहभागी थिए । आन्दोलनका सल्लाहकारहरुमा संस्कृतिविद् सत्यमोहन जोशी, कवि वैरागी काइँला, प्राध्यापक माणिकलाल श्रेष्ठ, कृष्ण हाछेथु लगायत रहेका छन् ।