काठमाण्डु, १६ कात्तिक– काभ्रेको उग्रचण्डी नाला– ४ मा रहेको उग्रचण्डी भगवतीको शिलामा पसिना आएको छ । शनिबार दिउँसो एक बजेबाट भगवतीको शिलामा पसिना
आएको मन्दिरका पूजारी सिद्धिबहादुर कर्माचार्यले बताए ।
शनिबार दिउँसो पहिलोपटक भगवतीको दर्शन गर्न आएकी ललितपुर कुसुन्तीकी मैयादेवी गेलाल भगवतीको शिलामा पसिना आएको देखेपछि काम्न सुरु गरेकी थिइन् । महिला कामेको देखेपछि मन्दिरमा हेर्दा भगवतीको शिलामा पसिना चुहिरहेको देखिएको स्थानीयवासीले बताए । भगवतीको शिलामा पसिना आएपछि स्थानीय त्रसित भएका छन् ।
नेपाल संवत् ७२१ मा नाला भगवतीको शरीरबाट रगत बगेको शिलामा उल्लेख छ । भगवतीको मूर्ति ११ सय वर्ष पुरानो हो । भगवतीको टाउको र हातबाहेक शरीरका अन्य ठाउँबाट पसिना आएको छ । काम्ने क्रममा गेलालले हाल मन्दिरमा बली दिएको स्थानमा नागको शिर रहेको र त्यस स्थानमा बली दिन नहुने बताएकी थिइन् ।
सयौं वर्ष पूरानो भगवतीको मूर्तिमा अहिलेसम्म पसिना आएको आफूहरूलाई थाहा नभएको पूजारी कर्माचार्यले बताए ।
सुरुमा मन्दिरको शिलालेखमा तपतप पसिना चुहिए पनि पछि भगवतीको शरीरका विभिन्न स्थानबाट पसिना चुहिएको स्थानीय श्याम सापकोटाले बताए । भगवतीको मूर्तिमा पसिना आएपछि स्थानीयले अशुभ हुनसक्ने अनुमान गरेका छन् । भगवतीलाई पसिना आएपछि स्थानीय र मन्दिरका पूजारीले अशुभ हुन नदिन क्षमापूजा र भाकल गरेका छन् ।
स्थानीय महिलाले भने मन्दिर आसपासको क्षेत्र फोहोर भएको र नियमित पूजाआजामा ध्यान दिन नसकेकाले भगवतीलाई पसिना आएको हुनसक्ने बताएका छन् । भगवतीलाई पसिना आएको खबर सुनेपछि मन्दिरमा नाला, बनेपालगायत क्षेत्रबाट सयौं मानिसको भीड लागेको थियो ।
अन्नपूर्ण पोष्टबाट