कमल थापाले भने,‘प्रधानमन्त्रीज्यू बामदेवलाई तह लगाउनुस्, नभए विद्रोह हुन्छ’

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते १४:४५ मा प्रकाशित

Kamal thapaकाठमाण्डु, १५ कात्तिक–राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई तह लगाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।
काडमाण्डुको शान्ति बाटिकामा शनिबार भएको विरोध सभालाई सम्बोधन गर्दै थापाले गौतमले हिन्दूहरुको भावनाको संसदमा खिल्ली उडाएको भन्दै माफी माग्नुपर्ने बताए । गौतमले हिन्दूहरुको आस्थामाथि प्रहार गर्न भगवानलाई होच्याएर बोलेको विषयमा माफी नमागे देशभर आन्दोलन चर्काउने चेतावनी उनको थियो ।

‘गृहमन्त्रीले भगवानको खिल्ली उडाएर हिन्दूहरुको धार्मिक आस्थामाथि अपमान गर्नुभएको छ’, थापाले भने, ‘प्रधानमन्त्री ज्यू आफ्ना गृहमन्त्रीलाई तह लगाउनुस्,माफी माग्न लगाउनुस्, नभए देशभर आन्दोलन चर्काउँछौं, आन्दोलनले विद्रोह र क्रान्तिको रुप लिन सक्छ ।’
गृहमन्त्री गौतमले शुक्रबार संसद बैठकमा हिन्दूवादीहरुले रत्नपार्कमा साक्षात भगवान नै प्रकट भए जसरी बन्चरो र खुकरी अगाडि राखेर र बाटामा गाई बाँधेर धर्नामा बसेकाले बल प्रयोग गरेर हटाइएको अभिव्यक्ति दिएका थिए ।

उनले भगवानप्रति गरेको ब्यंग्य फिर्ता लिन र दमनकारी व्यवहार सच्याउन गृहमन्त्री गौतमलाई आग्रह गरे ।  अन्यथा सनातन हिन्दु राष्ट्रको रक्षार्थ देशव्यापी दबाब अभियान सुरु गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us