काठमाण्डू, १२ साउन–भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएको छ । बाँध खोलेसँगै नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन अपिल समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिनेछ ।
यस अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ ।
प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्न, ढुंगा–बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न समेत सचेत रहन आग्रह गरेको छ ।