काठमाण्डू, ११ साउन– कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सम्भावित राजनीतिक संकट रोक्न नयाँ सरकारको कोर्समा लाग्न नहुने अडान राखेका छन । कांग्रेससँगको सत्ता सहकार्य टुटेपछि सातै प्रदेश सरकार फेर्नेगरी एमालेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग तीन बुँदे सहमति गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच भएको सहमति बमोजिम कोशी सरकारको नेतृत्व एमालेले नै गर्ने उल्लेख छ । तर ओलीले मुख्यमन्त्री फेर्ने संकेत गरेका छन् । एमाले उच्च स्रोतको अनुसार प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ ।
‘दलको उपनेतालाई मुख्यमन्त्री बनाउनेगरी छलफल गरिरहनु भएको छ,’ कोशीका एक नेताले भने । ताप्लेजुङ–१ (क) बाट निर्वाचित मेन्याङ्बोलाई मुख्यमन्त्री बनाएर ओलीले फेरि पार्टीभित्र आफ्नो प्रभाव स्थापित गराउन चाहेको देखिन्छ । तर मुख्यमन्त्री कार्कीले ओलीको चाहना अनुसार राजीनामा नगर्ने अडान लिएका छन् ।
संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीले आफ्नो राजीनामाले राजनीतिक संकट आउनसक्ने तर्क गरेका छन् । ‘संसदीय दलको नेताका हैसियतले भन्दा पनि उपधारा ५ बमोजिम बहुमत सांसदहरूको स्वतन्त्र हस्ताक्षरबाट मुख्यमन्त्री बनेकाले मैले राजीनामा दिँदा संवैधानिक संकट आउँछ,’ कार्कीले आफू निकटस्थलाई भन्ने गरेका छन् ।
यो उपधारा बमोजिम बन्ने मुख्यमन्त्रीलाई विश्वासको मत दिदा दलीय ह्वीप समेत नलाग्ने सर्वोच्च अदालतको आदेशलाई पनि ध्यान दिनुपर्ने उनको तर्क छ । स्रोतका अनुसार, एक साता अघि मात्रै ओलीलाई भेटेका मुख्यमन्त्री कार्कीले यसतर्फ सचेत गराइसकेका थिए । तर ओली मुख्यमन्त्री फेर्ने अडानमै छन् ।
‘पार्टी पुनगर्ठनको पक्षमा उभिनेहरूविरुद्ध निर्मम बनेको सन्देश दिन पनि मुख्यमन्त्री फेर्ने अडानमा केपी ओली उभिनु भएको छ,’ स्रोत भन्छ ।
मुख्यमन्त्री कार्कीले भने राजीनामा गर्नैपर्ने भए पार्टीको संस्थागत निर्णय हुनुपर्ने अडान राखेका छन् । ‘व्यक्तिगत निर्देशनले होइन, संस्थागत निर्णय भयो भने मान्ने हो,’ कार्कीले भन्ने गरेका छन् ।