रास्वपा सांसद खनालबाट धम्की पाउने व्यक्ति अस्पतालका सदस्य, के सोधेका थिए प्रश्न ?

काठमाण्डु टुडे २०८३ साउन ११ गते १४:१३ मा प्रकाशित

काठमाण्डू, ११ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापालाई धम्की दिएका छन ।

खनालकै निर्वाचन क्षेत्र लम्कीमा आयोजित कार्यक्रममै रास्वपा सांसद खनालले धम्की दिएका हुन् ।कार्यक्रममा सदस्य थापाले ‘लम्कीका मेयरलाई पक्राउ गर्न खोज्दा तपाईंले रोकेको हो भन्ने छ नि ? भन्दै सांसद खनाललाई प्रश्न गरेका थिए । जवाफमा सांसद खनालले भने, ‘कसले भन्यो ? प्रमण छ ? हाल्छु अहिले जाक्छु ।

समात्यो भने थाहा हुन्छ । यस्ता मान्छेलाई त तपाईंले सदस्यमा राख्नुभएको छ । अनधिकृत बोल्न मिल्छ ?’, खनालले धम्की दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । सदस्य थापाले लम्कीको विवाद समाधानका विषयमा प्रश्न गर्दा सांसद खनालले आफूलाई धम्की दिएको बताए ।

‘अस्पताल सञ्चालको विषयमा प्रदेश सरकार र स्थानीय तहबीच विवाद भएको विषय उठाएको थियो,’ थापाले भने, ‘उहाँले आवेगमा आएर धम्की दिनुभयो ।’

यता, सांसद खनालका स्वकीय सचिव हेमराज ढकालका अनुसार प्रादेशिक अस्पतालको विवाद समाधानबारे छलफल गर्न आइतबार व्यवस्थापन समितिले आमन्त्रण गरेको थियो ।

‘छलफलमा माननीयन्यूले प्रदेश र स्थानीय सरकार तपाईंहरूकै छ, मिलेर अगाडि बढ्नुपर्छ भन्नुभएको थियो,’ ढकालले भने, ‘सोहीबेला अस्पतालका सदस्यले सुशीला शाहीलाई पक्राउ गर्न खोज्दा तपाईंले रोक्नुभयो भनेर प्रश्न गरेपछि माननीयज्यू आक्रोशमा आउनुभएको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us